(१) ऐनको दफा ३ को उपदफा (१) बमोजिम कुनै अपराधको सम्बन्धमा दरखास्त दिंदा अनुसूची–१ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिने व्यक्तिलाई अनुसूची–२ बमोजिमको ढाँचामा भरपाई दिनु पर्नेछ ।
(३) कसैले उपनियम (१) बमोजिमको दरखास्त वा सूचना सम्बन्धित प्रहरी कार्यालयमा आफैं आएर नदिई कुनै व्यक्तिमार्फत पठाएमा सम्बन्धित प्रहरी कार्यालयले त्यस्तो दरखास्त वा सूचना बुझि त्यसको भरपाई अनुसूची–२ बमोजिमको ढाँचामा त्यस्तो दरखास्त वा सूचना लिई आउने व्यक्तिलाई दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम पर्न आएको दरखास्त अनुसूची–१ बमोजिमको ढाँचामा नभए पनि बुझी लिनुपर्छ र त्यस्तो दरखास्तको सम्बन्धमा अन्य कुनै आवश्यक कुरा खुलाउनु पर्ने देखिएमा सम्बन्धित प्रहरी कार्यालयले दरखास्त वा सूचना पठाउने व्यक्तिकहाँ कर्मचारी पठाइ वा निजलाई कार्यालयमै झिकाइ आवश्यक कुराहरू खुलाइ लिन सक्नेछ ।
तर हुलाकद्वारा वा कुनै व्यक्तिमार्फत पठाएको दरखास्त वा सूचनाको व्यहोरा सम्बन्धित व्यक्तिले स्वीकार गरी सनाखत नगरेसम्म त्यस्तो दरखास्त वा सूचना उपर कारबाही स्थगित गर्न सकिनेछ ।
(५) उपनियम (१) बमोजिम प्राप्त हुन आएको दरखास्त वा सूचनालाई सम्बन्धित प्रहरी कार्यालयले अनुसूची–३ बमोजिमको अपराध दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।
(६) यस नियममा उल्लिखित माध्यम बाहेक अन्य कुनै माध्यमद्वारा अपराध भएको सूचना प्राप्त भएमा सम्बन्धित प्रहरी कार्यालयलाई कारबाही चलाउन यस नियमले बाधा पु¥याएको मानिने छैन ।